६ दिने “Learn · Prevent · Thrive with Dr. Sandesh Lamsal” अभियान सफलतापूर्वक सम्पन्न
स्वास्थ्य सेवाको न्यून पहुँच रहेको ग्रामीण क्षेत्रमा सामाजिक सञ्जालका अभियानहरूले सामान्य तथा दीर्घकालीन रोगहरूका रोकथाममा विशेष भूमिका निर्वाह गर्दछन्। यस्तै सरल तथा व्यावहारिक उपायहरूका बारेमा जनतालाई सचेत गराउने मुख्य उद्देश्यसहित डा. सन्देश लम्साल फाउन्डेसन तथा मेडिकल स्टोरी नेपालको सहकार्यमा “Learn · Prevent · Thrive with Dr. Sandesh Lamsal” शीर्षक सहितको ६ दिने अभियान हालसालै मात्र सफलतापूर्वक सम्पन्न भएको छ। यस अभियानमा X, Facebook, Threads तथा Instagram जस्ता डिजिटल प्लेटफर्महरू प्रयोग गरिएका थिए भने अभियान अवधिभर स्वस्थ रहन टेवा पुर्याउने विभिन्न उपायहरू सम्प्रेषण गर्नुका साथै इच्छुक प्रयोगकर्ताहरूको सक्रिय सहभागिताका लागि आह्वानसमेत गरिएको थियो।
नेपाली स्वास्थ्यकर्मीहरू तथा स्वास्थ्य क्षेत्रमा रुचि राख्ने सम्पूर्ण नेपाली नागरिकहरूलाई विश्वव्यापी रूपमा जोड्ने एक डिजिटल प्ल्याटफर्मको रुपमा योगदान पुर्याइरहेको मेडिकल स्टोरी नेपाल, करिब एक दशकअघि डा. सरोज खनालद्वारा स्थापना गरिएको थियो। यस प्लेटफर्मले चिकित्सक, नर्स तथा स्वास्थ्यसम्बन्धी विद्यार्थीहरूका अनुभव, समाचारका साथै सूचनामूलक सामग्रीहरू साझा गर्ने गर्दछ । Facebook, Instagram, र X जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूमा मेडिकल स्टोरी नेपालका हाल एक लाखभन्दा बढी फलोअरहरू रहेका छन्। यसको मुख्य उद्देश्य भने स्वास्थ्य क्षेत्रमा आबद्ध स्वास्थ्यकर्मीहरूका वास्तविक जीवनका कथा र समसामयिक अपडेटहरूको माध्यमबाट स्वास्थ्य साक्षरता प्रवर्द्धन गर्नु रहेको देखिन्छ। साथै, मेडिकल स्टोरी नेपालले स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा विद्यमान विभिन्न व्यथिति तथा विसङ्गतिहरूलाई समेत नियमित रूपमा उठाउदै आएको छ। सामाजिक सञ्जालहरूमा सम्प्रेषित यसका पोस्टहरुले नेपाली स्वास्थ्यकर्मीहरू तथा सर्वसाधारण नेपाली जनताबीच संवाद र विचार–विमर्शलाई प्रोत्साहन गरी एक सुदृढ र उत्तरदायी स्वास्थ्य प्रणाली निर्माणमा योगदान पुर्याउँदै आएका छन्।
समान उद्देश्य रहेका डा. सन्देश लम्साल फाउन्डेसन र मेडिकल स्टोरी नेपालबीचको यो सहकार्य स्वाभाविक र उद्देश्य–आधारित साझेदारी साबित भएको छ। दुवै संस्थाले नेपालको स्वास्थ्य प्रणालीमा विद्यमान स्रोत साधनको अभाव तथा असमानतालाई सम्बोधन गर्न पहुँचयोग्य, विश्वसनीय, र व्यवहारिक स्वास्थ्य प्रणालीको प्रवर्द्धनलाई प्राथमिकता दिइ विभिन्न समयमा बुलन्द रूपमा आफ्नो आवाज उठाउँदै आएका छन्।
सामाजिक सञ्जालमा जनवरी १८ बाट दैनिक रूपमा निरन्तर छ दिनसम्म स्वास्थ्यसँग सम्बन्धित रोकथाममुखी सुझावहरू डा. लम्सालद्वारा सम्प्रेषण गर्ने घोषणाका साथ उक्त अभियान सुरु गरिएको थियो। अभियानअन्तर्गत प्रकाशित पोस्टहरूमा, विभिन्न किसिमका सङ्क्रमणहरूको रोकथामका लागि हात धुने अभ्यास, भीडभाडमा खोक्दा वा हाछ्युँ गर्दा मुख छोप्ने बानी, मुटु रोगसम्बन्धी जाँच, मानसिक स्वास्थ्यसम्बन्धी सचेतना तथा जोर्नी स्वास्थ्यका लागि उपयुक्त शारीरिक मुद्राजस्ता आधारभूत तर महत्त्वपूर्ण विषयहरू समावेश थिए।
#LearnPreventThrive, #DrSandeshLamsal, र #HealthcareEducation जस्ता ह्यासट्यागमार्फत प्रसारित पोस्टहरूले प्रयोगकर्ताहरूलाई लाइक, कमेन्ट तथा सेयरमार्फत सक्रिय सहभागिताका लागि प्रोत्साहित समेत गरेको देखिन्छ। अभियान अवधिभर Instagram, X, Facebook, र Threads मा उल्लेखनीय रूपमा रुचाइएका यी पोस्टहरूको पहुँच हालसम्म पनि बढ्दो क्रममा रहेको छ। यस अभियानबाट लाखौं मानिसहरू प्रत्यक्ष-अप्रत्यक्ष रूपमा लाभान्वित भएको जानकारी डा. सरोज खनालले दिनुभएको छ भने फाउन्डेसनका अध्यक्ष गणेश लम्सालले स्वास्थ्य सम्बन्धी ज्ञानमार्फत समाजमा विद्यमान विभिन्न स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न सक्ने बताउनुभएको छ। समग्रमा, नेपालमा बढ्दो गैर–संक्रामक रोगहरूको न्यूनीकरणका प्रयासहरूका अगाडि यो अभियान वर्तमान समयमा कोसेढुङ्गा साबित भएको छ।
प्रदूषण, असन्तुलित पोषण, र सीमित स्वास्थ्य स्क्रिनिङका कारण नेपालमा स्वास्थ्य जोखिम उच्च रहेको समयमा यस किसिमका अभियानहरू समय सापेक्ष रहेको विश्लेषकहरू बताउँछन्। सामाजिक सञ्जालमार्फत यस अभियानले सहरी तथा ग्रामीण क्षेत्रहरूमा समानरूपमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने विषयमा जोड दिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा ७० प्रतिशतभन्दा बढी मृत्युहरू हाम्रो सानो प्रयासबाट रोक्न सकिन्छ। यद्यपि, दुर्गम क्षेत्रमा नागरिक माझ न्यून डिजिटल पहुँच, इन्टरनेट साक्षरताको कमी, तथा स्वास्थ्य सम्बन्धी भ्रामक सूचनाचिर्ने माध्यमको सुदृढ ढङ्गले विकास नहुनु प्रमुख चुनौतीहरू रहेका छन्। यस किसिमका समस्याहरूलाई सम्बोधन गर्न विशेषज्ञहरूले स्वास्थ्य जनचेतना सम्बन्धी कार्यक्रमहरू स्थानीय रेडियो तथा पत्रपत्रिका मार्फत पनि विस्तार गर्न पटकपटक सुझाव दिने गरेका छन्।
Gen Z आन्दोलनपछि पूर्व प्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार नेपालमा सुधार प्रक्रियामा अघि बढिरहेको सन्दर्भमा यस्ता पहलहरूले आधारभूत स्तरमा नवप्रवर्तनको स्पष्ट उदाहरण प्रस्तुत गर्ने गर्दछन्। यस्ता अभियानहरूले नेपाली जनता माझ स्वास्थ्य सम्बन्धी जनचेतना वृद्धि गर्नुका साथै स्वास्थ्य क्षेत्रमा सुधारका लागि सामूहिक एकता सुदृढ गर्न योगदान पुर्याउँछन्। साना र निरन्तर प्रयासहरूबाट दीगो र अर्थपूर्ण परिवर्तन सम्भव हुने तथ्यलाई यसले प्रमाणित समेत गर्दछ।
यस बारेमा थप जानकारी फाउन्डेशनको आधिकारिक वेबसाइट www.dslf.org.np तथा इमेल contact@dslf.org.np मार्फत प्राप्त गर्न सकिनेछ।